Nepali Unicode | Preeti to Unicode

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–६ शिव चोकमा मङ्गलबार राति स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेटको ट्रकमा स्कारपिओ ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ००३१ नम्बरको स्कारपिओ सडकमा रोकेर राखिएको बिआर ०१ जिए ४४८३ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो ।

तेस्रो मुलुकबाट सामान लोड गरेर नेपाल भित्रिएको ट्रकलाई जाँचपासका लागि विराटनगर भन्सार कार्यालय लैजान सडकमै रोकेर राखिएको थियो । उक्त ट्रकमा राति ८ः५० बजेतिर स्कारपिओ पछाडिबाट ठोक्किएको हो ।

त्यसपछि अनियन्त्रित बनेको स्कारपिओ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अर्को ना ७ ख ५८३ नम्बरको ट्रकमा ठोक्किन पुगेको थियो । दुर्घटनामा परेर स्कारपिओमा सवार सप्तरीको हनुमाननगर–कङ्कालिनी–५ का ५० वर्षीय दिलिप मण्डलको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा हनुमाननगर–कङ्कालिनी–५ का ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार राजक, ४८ वर्षीया रामकुमारीदेवी रजक र ५० वर्षीय उमेशकुमार साफी घाइते भएका छन् ।

घाइतेमध्ये लक्ष्मणको अवस्था गम्भीर छ । घाइतेहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । दुर्घटनापछि फरार रहेका स्कारपिओ चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

दुवै ट्रकका चालक भने प्रहरी नियन्त्रणमा छन् । स्कारपिओको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर