नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् ।
आज एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भने, ‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्यान्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीवीहरूको सुझाव छ ।’
कतिपय काङ्ग्रेस नेताहरूले पनि एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस्, त्यसपछि सदन सुचारु गर्ने कुरामा एउटा सेफ ल्यान्डिङ हुनसक्छ भनिरहेको बताउँदै नेता बस्नेतले त्यसबारेमा आफ्नो पार्टीले अहिले नै कुनै ठोस निर्णय नगरिसकेको बताए ।
‘त्यसकारण त्यो विषयमा अहिले मैले यो नै हुन्छ भनेर भन्न सक्दिनँ,’ उनले भने, ‘तर, एउटा विषय त्यो पनि हुनचाहिँ सक्छ । सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ ।’
उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनका लागि आफूहरू सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पारे ।
उनले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयको स्वागत गर्दै एमालेले एक्लै सो चुनावमा भाग लिने स्पष्ट पारे । निर्वाचनमा मूलभूत रूपमा एमाले एक्लै जान्छ,’ उनले भने, ‘तर, निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यकताका आधारमा तालमेल पनि हुनसक्छ । यो कुरा हामी स्विकारेर जान्छौँ ।’
