प्रदेश २ को नाम र स्थानीय राजधानीका बारेमा टुङ्गो लगाउन मतदान सुरु भएको छ ।
नाम र राजधानीको विषय टुङ्गो लगाउन यसअघि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति बनाइएको थियो । दल तथा सांसदको आआफ्नै अडानका कारण समितिले त्यस सम्बन्धमा कुनै निस्कर्ष निकाल्न नसकेपछि नाम र राजधानीको विषय दोस्रो पटक मतदानमार्फत टुङ्गो लगाउन लागिएको हो ।
विभिन्न स्थानलाई समेटेर जनकपुर र वीरगन्जमध्ये एक ठाउँलाई प्रदेश २ को राजधानी बनाइनुपर्ने आवाज उठिरहेको छ । प्रदेश नामका लागि ‘मधेस प्रदेश’, ‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव गरिएको छ ।
प्रदेश २ मा एक सय चार जना सांसद छन् । नाम र राजधानीको विषय टुङ्गो लगाउन दुईतिहाई मत आवश्यक पर्छ ।
यसैबीच, जनकपुरलाई राजधानी बनाए सांसदहरूलाई अफर दिइने होटल एसोसिएसन नेपाल प्रदेश २ कमिटीले जनाएको छ ।
होटल एसोसिएसन नेपाल प्रदेश नं. २ का अध्यक्ष विजय झुनझुनवाला, होटल व्यवसायी तथा पर्यटन सङ्घ, धनुषाका प्रतिनिधि सुरेन्द्रकुमार भण्डारी र उद्योग वाणिज्य सङ्घ जनकपुरका अध्यक्ष जितेन्द्रकुमार महासेठले संयुक्त विज्ञप्ति जारी गरेर सांसदलाई होटलमा बास र भोजनमा छुट दिने घोषणा गरेका हुन् ।
