प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् । मुख्यमन्त्री राईले तमु ल्होसारका अवसरमा प्रदेश नं. १ र देशविदेशमा बस्ने सम्पूर्ण गुरुङ (तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुवातको रूपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभुषा लगाउने चलन छ । गुरुङ समुदायमा यस पर्वका दिन आफन्तजन, नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा छ ।
मुख्यमन्त्री राईले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको उल्लेख गर्दै यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको जनाएका छन् । ‘त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो,’ मुख्यमन्त्री राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्री राईले हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
