नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशमा राजनीतिक सङ्कट झन्झन् गहिरिँदै गएको बताएका छन् । देउवा नेतृत्वको सरकार अस्थिर बन्दै गएको भन्दै उनले राजनीतिकसँगै आर्थिक सङ्कटको खतरमा देश गइरहेको दाबी गरे ।
प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले विगत दुई वर्षदेखि विधेयक पनि बनाउन नसकेको, संसदमा ऐन पास गर्न नसक्ने, संसद फङसनमा नरहेको उनको भनाइ थियो । अदालतको बेन्च बस्न नसकेको र लोकतन्त्रका तीन खम्बा मानिने न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबै अस्तव्यस्त रहेको र बेकामे बनेको उनको भनाइ थियो ।
यी सङ्कटको समाधान जतिसक्दो चाँडो चुनाव भएमात्रै समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने पाण्डेले बताए । उनले भने, ‘यी घटना कसरी सेटल हुन्छ थाहा छैन तर सेटल हुँदा यसको निष्कर्ष निर्वाचनबाट हुन्छ । त्यसैले देश निर्वाचनतर्फ अघि बढेको महसुस गरेको छु ।’
साथै देशमा आर्थिक सङ्कट गहिरिँदै गएको र नेपालमा अर्थतन्त्रमा नकारात्मक लक्षणहरू देखा परेको उनले बताए । केही समय पहिलो १४ महिनालाई धान्ने वैदेशिक मुद्रा सञ्चिती छ भनिए पनि अहिले सात महिनामा झरेको र अझ घटिरहेको उनको भनाइ थियो ।
अहिलेका अर्थमन्त्रीले पूरा गर्नै नसक्ने आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको, देशमा विदेशी मुद्रा सञ्चिती घट्दै गएको, आयात बढ्दै गएर व्यापार घाटामा देश रहेको र रेमिट्यान्स घट्नुका साथै भुक्तान सन्तुलन नकारात्मक रहेको पाण्डेको भनाइ थियो ।
यो स्थितिीले राजनीतिकसँगै आर्थिक सङ्कटमा जाने खतरा बढेको उनको भनाइ थियो । पर्याप्त विदेशी सञ्चिती नभए झन् कठिन समस्या हुने उनको भनाइ थियो । सरकारका मन्त्रीहरूले प्रतिमहिना १० प्रतिशत विकास खर्च गर्ने बताए पनि त्यो गफमात्रै भएको उनको भनाइ थियो ।

उनले भने, ‘१० प्रतिशतका दरले खर्च हुन्थ्यो भने त अहिले ५० प्रतिशत पुग्नुपर्ने हो । जब कि ६ प्रतिशत छ । राजश्व उठाइरहेको छ तर खर्च हुन सकेको छैन । बैङ्कमा तरलता कमजोर छ । डिपोजिट ६४ अरब भएको तर साढे दुई अरबभन्दा बढी ऋण गएको छ । डिपोजिट बढिरहेको छैन ।’
साथै एमसिसी सम्झौता पास गर्ने–नगर्ने सरकारको दायित्व भएको भन्दै गठबन्धनबीच नै विवादित विषयमा प्रतिपक्ष बोलिरहन जरुरी नरहेको उनले प्रष्ट पारे । तर नेपालमा आउने जुनसुकै अनुदान निशर्त नआउने भन्दै एमसिसीमा पनि शर्त रहेको तर देशको हितमा रहे–नरहेकाबारे भने बृहत छलफल गर्न आवश्यक भएको उनको भनाइ थियो ।
