नेपाल काङ्ग्रेस प्रदेश १ को सभापतिका उम्मेदवार गुरुराज घिमिरेले शेखर कोइरालाका कारण पराजित भएको बताएका छन् । सभापतिका प्रत्यासी घिमिरेले संस्थानइतर पक्षका चार नेताले मतदान नगर्दा आफू पराजित भएको बताएका हुन् ।
उनले भने, ‘प्रदेश १ को अधिवेशनमा संस्थानइतर पक्षका चार नेताले मतदान गरेनन् । मतदान नगर्नेहरू केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसी हुन् । उनीहरू मतदानस्थलमा पुगेपनि मतदान भने गरेनन् ।’
संस्थानइतर पक्षका चार नेताले मतदान नगर्दा आफू पराजित भएको र सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षका उम्मेदवार उद्धव थापाले आठ सय ४४ मतले विजयी भएको बताए ।
कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ । तर काङ्ग्रेस निर्वाचन समितिले मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न नरोक्न बताएको थियो ।
निर्वाचन समितिका अनुसार प्रदेशमा चुनाव लडेकाले केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
