नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले गुटमात्रै चलाउने नेताले ठाउँ गर्नुपर्ने सुझाव दिएका छन् । शुक्रबार नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विराटनगरमा प्रदेश १ को अधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीलाई एक ढिक्का बनाउन नसक्ने नेताले ठाउँ खाली गर्नुपर्ने बताउँदै उनले भने, ‘गुटका कारण पार्टी ध्वस्त हुन लागिसक्यो । पार्टी तल्लो तहदेखि नै दुई चिरा भइसकेको छ । मधेसी, दलित, महिला, अल्पसङ्ख्यक सबै दुई चिरामा विभाजित छन् । गुटमात्रै चलाउने, पार्टीलाई दुई चिरा बनाउने र पार्टीलाई एकढिक्का बनाउन नचाहनेले अब ठाउँ खाली गरौँ ।’
पार्टीलाई एकढिक्का बनाउनतिर लाग्न उम्मेदवारहरूलाई सुझाव दिएका उनले आक्रोसित मुद्रामा भाषण गर्दै भने, ‘ठुला कुरामात्रै गर्ने र पार्टीलाई एक हुन नदिनेले ठाउँ खाली गरौँ ।’
