Nepali Unicode | Preeti to Unicode

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले कायममुकायम नताेक्ने भएका छन् ।

काेराेना सङ्क्रमण भई अस्पताल भर्ना भई उपचाररत जबराले भाेलि आफू डिस्चार्ज हुने र बालुवाटार निवासमै आइसाेलेसन बसेर न्यायालय सञ्चालन गर्ने बताएका हुन् ।

बिहीबार बार एसाेसिएसनका पदाधिकारीहरूसँगकाे छलफलपछि न्यायाधीश हरिकृष्ण कार्कीले जबरालाई फाेन गरेका थिए । जबाफमा जबराले कुनै हालतमा कामु नदिने भन्दै बालुवाटारबाटै कार्य सञ्चालन गर्ने बताएका हुन् ।

कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका थिए ।

काेराेना सङ्क्रमित भई उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।

यसअघि सत्ता गठबन्धनका नेताहरूले पनि प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका थिए ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।

कामु नताेकेसम्म आफूहरूले बहस नगर्ने कानुन व्यवसायीले अडान लिएका छन् । उनीहरूले बहस नगरेपछि आज विश्वम्भरप्रसाद श्रेष्ठ र टङ्कबहादुर मोक्तानको इजलास बस्न नभ्याएकाे सूचिमा राखिएकाे छ ।

बिरामी हुँदा वा विदेशमा हुँदा प्रधानन्यायाधीश पछिको व्यक्तिलाई कायम मुकायमको (कामु) जिम्मेवारी दिने गरिन्छ। तर, राणाले कुनै पनि दिन कामुको जिम्मेवारी अरूलाई दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर