सरकारले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, सरकाले एसियाली विकास बैङ्कबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने निर्णय गरेको छ । त्यसबाहेक सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए ।
मन्त्रिपरिषद् बैठकले एसियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाइजेसनको ५९औँ वार्षिकसभामा भाग लिन कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
रक्षामन्त्री डाक्टर मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने युएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले मोरक्कोमा हुने इन्टरनेसनल एक्जुक्यूटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा सिँचाई सचिव सागरकुमार राईलाई सहभागी हुन स्विकृति दिएको छ ।
नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डाक्टर श्यामसुन्दर यादव, भीमसिंह तिङ्करी र डाक्टर गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।
मन्त्रिपरिषद बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ । सङ्क्रमण पशुरोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद् बैठकले दिएको मन्त्री कार्कीले बताए ।
