सुर्खेतमा सात वर्षीया बालिकाको हत्या गरिएको छ ।
लेकबेँसी नगरपालिका–१, ढापखर्ककी सात वर्षीया मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।
उनको घरबाट पाँच सय मिटर दूरीमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सुनारको सोमबार शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
बालिका आइतबार बिहान १० बजे सामान किन्न घर नजिकैको पसलमा गएकी थिइन् । घर नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।
खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवा नेतृत्वको टोलीले खोजतलास गर्दा सुनारको शव घाँटी रेटिएको अवस्थामा फेला पारेको हो ।
घटनास्थलमा प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।
