वाग्मती प्रदेशमा आज राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।
प्रदेशको मुख्यमन्त्रीबाट नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएको भोलिपल्ट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो ।
सरकार गठनका लागि मुख्यमन्त्री पदका प्रत्यासी पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष हिजो नै दाबी पेश गरेका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका ५९ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पत्र पेश गरेका हुन् ।
वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएसँगै प्रदेशप्रमुख शर्माले हिजो नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।
एक सय ९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक छ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, काङ्ग्रेससङ्ग २२, एकीकृत समाजवादीसङ्ग १३ र जसपाका एक सांसद छन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ मत छ । विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २–२ सांसद छन् । मुख्यमन्त्रीमा पाण्डेलाई आजै सपथ गराउने तयारी भएको बताइएको छ ।
