नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने बताएका छन् । प्रेस चौतरी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अदालतभित्र भइरहेको दाउपेचमा नपस्ने बताएका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग भइरहेको अवस्थामा एमाले अध्यक्ष ओली राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नउठाउने सङ्केत गरे ।
‘महाअिभयोग अहिले जुन राजनीति सर्वोच्चको नाममा भइरहेको छ, त्यस प्रकारको होइन । हाम्रो चिन्ता सर्वाेच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रूपमा राख्ने हो,’ प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ भन्ने प्रश्नमा ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वाेच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन । हामीलाई त्यहाँभित्र (अदालतमा) केका खिचातानी हुन्, त्यसमा पनि पस्नु छैन ।’
