नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधीले सभापतिका लागि आफूलाई सहयोग गर्ने वचन शेरबहादुर देउवाले १३ औँ महाधिवेशनकै बेला दिएको बताएका छन् ।
धनुषाको नगराइन नगरपालिकामा आइतबार क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । आसन्न महाधिवेशनमा आफूलाई केन्द्रीय सभापतिमा समर्थन गर्नसमेत आग्रह गरे ।
उनले सम्बोधनको क्रममा भने, ‘सभापति बनेर देश र जनताको सेवा गर्ने चाहना छ, तपाईंहरूको सहयोग र समर्थन खोजेको छु ।’ उनले वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गर्न जिल्लाका नेता कार्यकर्ताहरूलाई आग्रहसमेत गरेका छन् । सहमतिमा सबै तहको नेतृत्व चयन गरेर धनुषा र प्रदेश २ ले सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै उनले १५ औँ महाधिवेशनदेखि काङ्ग्रेसको नेतृत्व युवाहरूले गर्ने बताए । १५ औँ महाधिवेशनपछि पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्ने आफ्नो धारणा सभापति शेरबहादुर देउवासमक्ष राखिसकेको उनले बताए ।
‘संवाद गर्नुहोस् तर झगडा नगर्नुस्,’ उनले भने, ‘प्रदेश २ माथि सबैको नजर छ ।’ सहमतिमा नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिन उनले सबैमा आग्रह गरे ।
