Nepali Unicode | Preeti to Unicode

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई असल संस्कार र आचरण अबलम्बन गर्न सुझाव दिनुभएको छ ।

चार मन्त्री र एक राज्यमन्त्रीलाई पार्टी कार्यालय मीनभवनमा आइतबार सामूहिक निर्देशन दिँदै अध्यक्ष नेपालले बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिनुभयो । ‘कुनै पनि मन्त्रीले रक्सी खाएर, मातेर फाइव स्टारमा क्लाइन्टसँग बसेर कुरा गरेका छन् भन्ने सुन्नु नपरोस्, त्यस्तो छ भने त्याग्नुस्,’ उहाँको निर्देशन थियो, ‘मौका आएको छ, पहिले चार पेग खाइन्थ्यो अब १० पेग खाइन्छ भन्न पाउनुहुँदैन । त्यस्तो सुन्नु नपरोस् ।’

नेपालले पार्टीसँग सल्लाह गरेर मात्रै योग्यता, क्षमता र कार्यसम्पादन हेरेर आफ्ना सल्लाहकार, स्वकीय सचिव र राजनीतिक नियुक्ति गर्न सुझाव दिनुभयो ।

अध्यक्ष नेपालले अनियमितता भ्रष्टाचारबाट टाढा रहन र कामप्रति जवाफदेही रहन निर्देशन दिनुभयो । ‘स्वच्छ, सादा जीवन, असल आचारण र संस्कार देखाउनुस्,’ उहाँको भनाइ थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा विरोध खतिवडा, सहरी विकास मन्त्रीमा रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा भवानीप्रसाद खापुङ सहभागी हुनुभएको छ । खतिवडाले पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर