मुस्ताङस्थित हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।
मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो ।
‘स्वदेशीका लागि पिसिआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ,’ उनले भने, ‘विदेशीका लागि सात दिनभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
बडादसैँ र सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना सङ्क्रमण फैलिएका कारण २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।
१८ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो ।
निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले सुस्ताएका मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ । कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका थिए ।
