
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । मङ्गलबार ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले ५ विकेटको हार बेहोरेको हो ।
नेपालले आफ्नो पहिलो खेलमा सोमबार अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने ओमानविरुद्ध उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेन । ओमानले खेल सकिन १८ दशमलव पाँच ओभर बाँकी छदै मात्र पाँच विकेटको क्षतिमा नेपालले प्रस्तुत गरेको एक सय ९७ रनको लक्ष्य भेट्टायो ।
मोहम्मद नदीमले विक्रम सोबको ओभरको पहिलो बलमै छक्का लगाउँदा ओमानले ३१ दशमलव १ ओभरमा पाँच विकेटको क्षतिमा २०० रन बनाएर लक्ष्य पूरा गरेको हो । नदीमले ३८ रन बनाएर अविजित रहे । त्यसअघि ओमानका लागि ओपनर जतिन्दर सिंहले विष्फोटक पारी खेल्दै शतक लगाएका थिए ।
जतिन्दरले मात्र ५८ बलमा आफ्नो शतक पूरा गरे । शतक पूरा गर्न उनले १० चौका र ६ छक्का लगाए । ओमानलाई जितका लागि ३५ रन आवश्यक छँदा जतिन्दर सिंह कुशल मल्लको बलमा रोहित पौडेललाई क्याच थमाउँदै एक सय सात रन बनाएर पेभेलियन फर्किए ।
उनले नेपालका प्रमुख बलर सोमपालको तेस्रो तथा नेपालको पाँचौं ओभरमा तीन छक्का र तीन चौका लगाएर ३० रन बटुले । दुई ओभरमा मात्र पाँच रन खर्चिएका सोमपालले एकै ओभरमा ३० रन खर्चिन पुगे । उनी विकेटविहीन रहे । जतिन्दरले करण केसीले बलिङ गर्दा आठौँ ओभरमा २० रन लिए ।
नेपाली बलरहरूमा करण केसीले पाँच ओभरमा ५२ रन खर्चेर दुई विकेट लिए । अफ स्पिनर कुशल मल्लले १० ओभरमा मात्र ३८ रन खर्चेर दुई विकेट लिए । सुशन भारीले एक विकेट लिए ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने घाइते हुन पुग्दा उनले बलिङ गर्न सकेनन् । ब्याटिङमा भने उनले १० बलमा एक चौका र एक छक्काको सहयोगले १६ रन बनाएर रन आउट भएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ओभरमा अलआउट हुँदै एक सय रन बनाएको यो । नेपालका लागि आरिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्ग्स खेले । उनले एक सय २१ बलमा सात चौका र एक छक्का प्रहार गरे ।
यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २१ रन जोड्दा करण केसीले ४८ बलमा २१ रन बनाए । रोहितकुमार पौडेलले ३४ बलमा २० रन बनाए भने सन्दीप लामिछानेले २६ बल खेल्दा १६ रन जोडे ।
सोमपाल कामीले सात, विनोद भण्डारीले ६, कुशल मल्लले चार र विक्रम सोबले दुई रन बनाए भने सुशन भारीले अजिवित दुई रन जोडे । कुशल भुर्तेल भने शून्य रनमा पेभेलियन फर्किए ।
बलिङतर्फ बिलाल खानले चार विकेट लिए भने नेस्टर धाम्बाले दुई तथा मोहम्मद नदीम र जिसन मकुबले एक–एक विकेट झारे ।