नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने भएका छन्।
उनले महामन्त्रीमा लड्न आन्तरिक तयारी गरिसकेका छन्। ‘महामन्त्रीमा लड्ने मेरो तयारी छ,’ पौडेलले भने, ‘दुई-चार दिनमा औपचारिक घोषणा गर्छु।’पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील छानबिन समितिमा रहेर काम गरेका थिए।
क्रियाशील सदस्यता सम्बन्धीका विवाद अझै केही जिल्लामा टुंगोमा पुगेको छैन। यी विवाद समाधान गरिसकेपछि महाधिवेशनमा होमिने पौडेलको तयारी छ।
पौडेल भने १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्रै लडेका थिए। पौडेल पहिलोपटक कांग्रेस पदाधिकारीमा लड्न लागेका हुन्। स्रोतका अनुसार सिटौलाले पौडेललाई महामन्त्रीको तयारी गर्न भनेका छन्।
यसबारे पौडेलसँग सोधिएको प्रश्नमा उनले भने, ‘कुन टिमबाट उठ्ने सल्लाह गर्न बाँकी नै छ। तर तपाईंहरूलाई थाहा नै छ म कुन टिमसँग नजिक छु भन्ने।’
यसअगाडि १३ औं महाधिवेशनमा गगन थापा सिटौला पक्षबाट महामन्त्री लडेका थिए। उनी रामचन्द्र पौडेल पक्षबाट महामन्त्री लडेका शशांक कोइरालासँग पराजित भएका थिए। पछिल्लो समय थापा भने संस्थापनइतर समूह (पौडेल) समूहतर्फ नजिक छन्।
उनी पौडेल पक्षबाटै महामन्त्री लड्ने तयारीमा छन्। तर पौडेल पक्षले सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने तय गरिसकेको छैन। सर्वसम्मत तवरबाट सभापतिको उम्मेदवार दिने पौडेलले केही दिनअगाडि पत्रकार सम्मेलनमा भनेका थिए, त्यो पत्रकार सम्मेलनमा थापा पनि सहभागी थिए।
प्रदीप पौडेल पनि महामन्त्री पदमा लड्ने तयारी गरेपछि युवा केन्द्रीय सदस्यहरू यो महाधिवेशनमा आमनेसामने हुने भएका छन्। सभापति देउवा पक्षबाट महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि लड्ने तयारीमा छन्। उनले यही भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्दैछन्।
थापाले गत भदौ १४ मै महामन्त्री पदमा लड्ने घोषणा गरिसकेका छन्। कांग्रेस विधानअनुसार यसपटक दुई महामन्त्री पदका लागि निर्वाचन हुनेछ। सभापति, दुई उपसभापति र एक सय ६८ सदस्यीय केन्द्रीय समितिमध्ये १३५ सदस्यीय केन्द्रीय सदस्यका लागि पनि प्रत्यक्ष निर्वाचन हुनेछ।
विशेषगरी महामन्त्री पदमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। सभापति देउवा पक्षबाट महामन्त्रीमा प्रवक्ता शर्मासँगै गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउदलगायत नेता आकांक्षी छन्।
वरिष्ठ नेता पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरूङ, सरिता प्रसाईं आकांक्षी छन्। गगन पनि यही टिमबाट महामन्त्री उठ्ने तयारीमा छन्।
सिटौला पक्षबाट पौडेल महामन्त्रीको तयारी गर्दैछन्। उपसभापति विमलेन्द्र निधि पनि सभापति उठ्ने तयारी गरिरहेकोले उनको तर्फबाट को-को महामन्त्रीमा उम्मेदवारी दिन्छन् भन्ने अहिलेसम्म खुलेको छैन। निधिले सम्पर्क कार्यालय नै खोलेर महाधिवेशनको तयारी गरिरहेका छन्।
सिटौला समूहबाट महामन्त्रीमा उठ्न लागेका पौडेल नेविसंघका पूर्वअध्यक्ष हुन्। उनी २०७४ सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा क्षेत्रमा उम्मेदवार बनेका थिए त्यसबेला ५ मतले नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग पराजित भएका थिए।
