एक साताअघि मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यको नियुक्ति बदर गर्न प्रदेश १ का विपक्षी गठबन्धनमा रहेका दलहरूंले माग गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका दलहरूले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गरेका हुन् ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताले पार्टी विभाजन भएको अवस्थामा संविधानको धारा १६८ को उपधार १ बमोजिम सरकार गठन हुन नसक्ने भन्दै तत्काल नियुक्ति बदर गर्न माग गरेका हुन् ।
आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए । दल विभाजनपछि निर्वाचन आयोगले दल रोज्ने समय दिएको अवस्थामा बहुमत छ भन्दै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरित भएको गठबन्धनको दाबी छ ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा १० जनाले नयाँ पार्टी रोजेपछि नेकपा एमालेमा सभामुखसहित ४१ जना सांसद छन् । काङ्ग्रेसमा २१, माओवादीमा १५, जसपामा ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक जना सांसद छन् ।
प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपामा ४९ जना सांसद छन् । गठबन्धनमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि थपिएको छ । मञ्च थपिए गठबन्धनमा सांसदको सङ्ख्या ५० पुग्नेछ ।

