गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले यस्तो बताएको हो ।
कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको जनाएको छ ।
मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि अनावश्यक दवाव आएको जानकारी प्राप्त भएकाले बिरामीको मृत्युको विषयलाई लिएर भएका यस्ता गतिविधिको निन्दा गरेको छ ।
मन्त्रालयले साझा शत्रुको रूपमा रहेको कोरोनाका बिरामीको उपचार, सङ्क्रमण नियन्त्रण तथा रोकथामको कार्यलाई थप प्रभावकारी बनाउने कार्यमा स्वास्थ्यकर्मीबाट निर्वाह भएको भूमिका र योगदानको मुक्त कण्ठले प्रशंसा गरेको छ ।
यही जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युको घटनालाई लिएर उक्त वार्ड भित्रै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको सम्बन्धमा मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ ।
