कोरोना सङ्क्रमणका कारण बिहीबार बिहान १८ वर्षीया युवतीसहित मोरङमा छ जनाको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विराटनगरका दुई जना, ललितपुर, सप्तरी, सुुनसरी र मोरङको उर्लाबारीका एक-एक जना छन् ।
नोबेल मेडिकल कलेजमा सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको मृत्यु भएको छ । बिहीबार बिहान ४ः४० बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि बैशाख २८ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकमा दिर्घरोगको समस्या थिएन् ।
मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनलाई पनि वैशाख २८ गते भर्ना गरिएको थियो ।
सप्तरीको कन्चनपुर–८ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि गत वैशाख १२ गते उपचारका लागि भर्ना गरिएका वृद्धको बिहान ५ बजे मृत्यु भएको दाहालले बताए ।
विराटनगर महानगरपालिका–४ का ६० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । वृद्ध पुरुषको बिहानको राति करिब १ बजे मृत्यु भएको हो ।
ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएका पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।
विराटनगर–१ का ३० वर्षीय युवाको बिहानका राति १२ः३० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएका युवालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो ।
