Nepali Unicode | Preeti to Unicode

उनीहरुमध्ये एक जनाको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा, चार जनाको विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा, तीन जनाको नोबेल शिक्षण अस्पतालमा र एक जनाको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलबार बिहानका राति १२ः३० बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि वैशाख १९ गते भर्ना गरिएको थियो ।

विराट नर्सिङ होममा उपचाररत धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको पनि बिहान ९ बजेतिर मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएका उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–१६ का ५२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उनको बिहान ४ बजेतिर मृत्यु भएको हो । कोरोना सङ्क्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको उनको भनाइ छ ।

धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । उनको बिहान ४ः३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि मृतक पुरुषलाई उपचारका लागि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको बिहान ६ः३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए ।

त्यस्तै त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहानका राति १ः३० बजेतिर मृत्यु भएको राजवंशीले बताए ।

झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको पनि कोसीमै मृत्यु भएको छ । बिहानका राति १२ः१५ बजेतिर उनको मृत्यु भएको हो । राजवंशीका अनुसार महिलालाई उपचारका लागि वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।

कोसीमै विराटनगर–१० का ६८ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १३ गते अस्पताल भर्ना गरिएको सूचना अधिकारी राजवंशीले बताए । उनका अनुसार सङ्क्रमित वृद्धाको मृत्यु सोमबार राति १० बजेतिर भएको हो ।

त्यस्तै तनहुँका ६० वर्षीय वृद्ध पुरुषको पनि कोसीमै मृत्यु भएको छ । उनको राति ८ बजेतिर मृत्यु भएको हो । राजवंशीका अनुसार कोरोना सङ्क्रमण देखिएका पुरुषलाई उपचारका लागि वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालहरुले दिएको जानकारी अनुसार अत्यन्तै गम्भीर अवस्थामा उपचारका लागि भर्ना गरिएका सङ्क्रमितहरुको आईसीयू र भेन्टिलेटरमा मृत्यु भएको हो । कतिपय मृतकहरुमा मुटु र फोक्सो सम्बन्धीको पुरानै समस्या रहेको थियो । कतिपयमा मधुमेह, उच्चरक्तचापको पुरानै समस्या र शरीरमा अक्सिजनको कमी रहेको पाइएको छ ।

धरानमा पनि थप एक जनाको मृत्यु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि मङ्गलबार बिहान एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको बिहानका राति १२ः४८ बजेतिर मृत्यु भएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उपचारका लागि वैशाख २० गते अस्पतालमा भर्ना गरिएका पुरुषको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएको थियो । तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भए पनि सङ्क्रमित पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर