खनाल–नेपाल समूहका अर्का प्रभावशाली नेता सुरेन्द्र पाण्डे ओली समूहले राजीनामाको नियोजित प्रचार थालेको बताएका छन् ।उनले भने, “राजीनामाको हल्ला बेकारको कुरा हो । बालुवाटारले नै हल्ला फिँजाएको हुनसक्छ । हामी त्यस्तो निष्कर्षमा पुगेका छैनौँ ।”
नेपाल समूहका प्रभावशाली नेता रघुजी पन्तले सामूहिक राजीनामाको विकल्पबारे पनि छलफल भएको स्वीकार गरे । “साथीहरूले धारणा राख्ने क्रममा सामूहिक राजीनामाको कुरा पनि गर्नु भएको छ । तर, निष्कर्ष भने निस्किइसकेको छैन,” उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने बताएसँगै सदनभित्र ‘निर्णायक’ र ‘गेम चेञ्जर’ देखिएको एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सघन छलफलमा जुटेको छ ।
सोमबारदेखि नै आन्तरिक छलफल, परामर्शमा जुटेको भए पनि मूर्त निष्कर्ष निस्किइनसकेको एक नेताले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता खनाल कोरोना सङ्क्रमणका कारण नर्भिक अस्पताल थापाथलीमा उपचाररत छन् । नेता नेपालले आफ्नो समूहनिकट सबै सांसदसँग छलफल गरिरहेका छन् । खनाल–नेपाल समूहसँग कम्तिमा ३० सांसद रहेको बताइएको छ । २१ जना प्रत्यक्ष निर्वाचित सांसद त्यस समूहमा छन् । ३७ मध्ये केही लकपकाइसकेको उनीहरूको निचोड पनि छ । “राम्रो नियतले विश्वासको मत लिन लागेको भए संसद्को नियमित (बर्खे) अधिवेशन आह्वान भइहाल्थ्यो, बजेट अधिवेशन बोलाउन नै विलम्ब भइरहेको अवस्थामा विशेष अधिवेशनको बाटो रोज्नु कुनै हालतमा सकारात्मक मान्न सकिँदैन,” ती समूहका नेता भन्छन्, “यो पनि षड्यन्त्रकै सिलसिला हो । त्यसकारण ओलीको रणनीति बुझेर मात्रै निष्कर्षमा पुग्नुपर्छ । हामी हतारिएर निर्णय गर्ने पक्षमा छैनौँ ।”
