काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले जिल्ला बाहिर नजान र बाहिर रहेकालाई काठमाडौं आउन निर्देशन दिएका छन् । जसपाका एक नेताका अनुसार ठाकुरले जुनसुकै बेला आवश्यकता पर्न सक्ने भएकाले काठमाडौं बाहिर नजान निर्देशन दिएका हुन् ।
“जो सांसदहरु जिल्लाबाहिर जानु भएको छ । उहाँहरुलाई जिल्लातिरै नबस्नुस् । जतिबेला पनि आवश्यकता पर्न सक्छ । काठमाडौं फर्कनुस् र यतै भएकालाई उपत्यका बाहिर नजानुस् भनेर आइतबार निर्देशन गरिएको हो,” पूर्वराजपाका नेताले भने ।
लुम्बिनी प्रदेशमा अध्यक्ष उपेन्द्र यादव समूहले ४ सांसदलाई कारबाही गरेपछि समाजवादीको विवाद उत्कर्षमा छ । एमालेका मुख्यमन्त्री शंकर पोखरेल सरकारमा मन्त्री बनेका सांसदहरुलाई विधान विपरित कारबाही गरेको भन्दै ठाकुरले त्यसलाई रोक्न निर्वाचन आयोग गुहारेका छन् । जसपा फुटको डिलमा पुगेको छ । यादव पक्ष अर्थात् पूर्व समाजवादीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आउने अविश्वासको पक्षमा रहने निर्णय गरिसकेका छन् । तर, ठाकुर समूह ओलीलाई सघाउने पक्षमा छ ।
