Nepali Unicode | Preeti to Unicode

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज  प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज  विश्वासको मत लिन लागेका हुन् ।

कर्णाली प्रदेश सभामा एमालेको सभामुखसहित २० मत रहेको छ । माओवादी केन्द्रको १३ मत रहेको थियो । धर्मराज रेग्मी एमालेतिर लागेकाले पार्टीले दल त्यागको जानकारी गराइसकेकाले ऊसँग १२ मत रहेको छ । कांग्रेसका ६ जना सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ मत रहेको छ ।

एमाले र इतरपक्षसँग १९, १९ मत रहेकाले सभामुख निर्णायक हुँदा आफ्नो सरकार बन्नेमा ढुक्क रहेको  एमालेका मुख्य सचेतक गुलाबजंग शाह बताउँछन् ।

यद्यपि, राप्रपा अहिलेसम्म इतरसमूहमा नखुलेकाले एमालेलाई सहयोग गर्ने शाहको भनाइ छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

गत चैत ५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएका थिए ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सभाकी सचेतक सीता कुमारी नेपालीले सांसदहरुलाई शाहीको पक्षमा मतदान गर्न सार्वजनिक अपिल गरेकी छन् ।

”कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नु हुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले सरकारको समर्थन फिर्ता गर्नुले राजनीतिक अस्थिरता निम्तिनुको साथै कर्णालीको समग्र विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने माओवादीको ठहर छ ।

राजनीतिक परिवर्तन र जनताले गरेको अपेक्षाअनुसार विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन विश्वासको मत लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर