काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कुनैबेला विदेशी शक्तिहरूको काखमा सुत्ने लाज नमान्नेहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन लागेको बताएका छन् । हिजो केही समाचार माध्यमहरूले भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त गोयलको नेपाल भ्रमणका बेला गोप्य सम्झौता भएको भन्दै पत्र प्रकाशित गरेका थिए ।
त्यो पत्र भ्रमपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले खण्डन गरेका थिए ।
उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले ‘ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेको’ बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “कुनैबेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् ।”
