Nepali Unicode | Preeti to Unicode

काठमाडौँ / रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १६ लाख ८३ हजार एक सय २१ आवेदकबाट रु दुई करोड ३५ लाख ४६ हजार चार सय ४० कित्ताको लागि आवेदन परेको थियो ।

आवेदन दिएकामध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार आठ सय ९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार नौ सय १६ लगानीकर्ताले दस कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए ।

रीतपूर्वक आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ । प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अङ्कित मूल्यमा रु २० प्रिमियम थप गरेर प्रतिकित्ता रु १२० मा शेयर बिक्री गरिएको थियो ।

कम्पनीले चार लाख सात हजार सात सय ६ कित्ता आइपिओ सर्वसाधारणका लागि खुला गरेको थियो । यसमध्ये आठ हजार एक सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार तीन सय ८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

यसअघि गत फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि चार लाख सात हजार सात सय पाँच कित्ता शेयर निष्काशन गरेको थियो । आइपिओको नतीजा मेरो शेयर, सिडिएसले आइपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर