
फ्रेन्च स्टार एन्टोइन ग्रिजम्यानले बार्सिलोनामा नै आफ्नो भविष्य रहेको बताएका छन् । यूईएफए नेशन्स लिग खेलेर हालै क्लब फर्किएका विश्वकप विजेता ग्रिजम्यानले बार्सिलोनामै आफ्नो भविष्य रहेको बताएका हुन् ।
पछिल्लो समय ग्रिजम्यानले पनि बार्सिलोना छोड्ने चर्चा चलेको थियो । जर्मन क्लब बायर्न म्युनिखसँगको ८–२ गोलको लज्जास्पद हार र त्यसपछि सिर्जित समस्याका कारण ग्रिजम्यान लामो समय नबस्ने चर्चा चल्दै आएको थियो ।
अघिल्लो सिजन मात्र एथ्लेटिको मड्रिडबाट क्याप नोउमा अनुबन्ध भएका उनले आगामी सिजनमा बार्सिलोना छोड्ने विभिन्न रिपोर्टहरूले दाबी गर्दै आएका थिए । तर, २९ वर्षीय ग्रिजम्यानले भने आफ्नो भविष्य बार्सिलोनामै रहेको बताएका छन् ।
नयाँ सिजनका लागि उत्साहित रहेको उल्लेख गर्दै उनले भने, ‘म क्याप नोउमै मेरो भविष्य देख्छु । मलाई थाहा छैन मानिसहरू किन अरुको गन्तव्य तय गरिदिन्छन् । म बार्सिलोनामै खुशी छु । म विश्वस्त छु कि क्लब र प्रशिक्षकसँग मेरो तालमेल मिल्नेछ ।’
‘यसर्थ, म यहीँ ठीक छु । अघिल्लो सिजन सबैका लागि धेरै नै कठिन थियो र अब हामी सुरुआत गर्नका लागि तयार छौं । नयाँ सिजनका लागि उत्साहित छु,’ उनले थपे ।