चितवन, २५ भदौ । समयमा नै युरिया मल आपूर्ति नहुँदा अभाव झेलिरहेका कृषकहरु धानमा रोग लागेपछि थप चिन्तित बनेका छन् ।
युरिया मलको अभाव खेपिरहेका चितवनका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको हो ।
धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाइदिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन । खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ । त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनले बताए ।
गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ । पुतलीले ५–७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने उनले बताए ।
धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ । पसाउने वेलाको धानमा देखिएको छ । धानमानै सेतो झिँगा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पुर्याउने प्राविधिकहरु बताउँछन् । रासस