
झापा ,२४ भदौ । विभिन्न मुद्धामा अदालतबाट सजाय सुनाईएका फरार सूचीमा भएका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्ला समय महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणसंग जुध्दै प्रहरीले पक्राउ सूचिमा रहेका अभियुक्तहरुको खोजतलासमा समेत थप सक्रियता अघि बढाए पछि झापामा मात्र गएको साउन र चालु भदौ १० गतेसम्म १३ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।
झापा जिल्ला अदालतबाट विभिन्न मुद्दामा जरिवाना तथा सजायको फैसला सुनाइएका तर फरार रहेका ती अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
उनका अनुसार यसरी पक्राउ पर्नेमा नागरिकता किर्तेमा २०७३ साल जेठ ३१ गते नागरिकता किर्ते गरेको मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद सजाय तथा ५ हजार ५ सय रुपैयाँ जरिमाना तोकिएका बुद्धशान्ति गाउँपालिका ४ का भीमबहादुर खड्कालाई गत साउन २ गते ,सवारी चालक अनुमति पत्र किर्ते गरेको अभियोगमा २०७५ वैशाख ३ गते जिल्ला अदालतबाट १ वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकिएका
विर्तामोड नगरपालिका १ का सुशिल बस्नेतलाई गत साउन ४ गते पक्राउ गरिएको हो ।
त्यस्तै बहुविवाहको मुद्दामा सजाय पाएका झापाको शरणामतिका रुपनारायण शिवाकोटीलाई साउन ५ गते पक्राउ गरिएको हो। उनलाई अदालतले २०७० साल चैत ९ गते १ वर्ष ५ महिना २० दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।पक्राउ पर्ने अदालतबाट सजाय पाएका विर्तामोड नगरपालिका ४ सञ्जय राजवंशी रहेका छन्। लागु औषध मुद्दामा उनले अदालतबाट २ महिना ११ दिन कैद सजाय पाएका थिए। उनलाई पनि गत साउन ७ गते पक्राउ गरिएको हो। राजवंशीलाई २०७६ साल माघ २७ गते सजाय तोकिएको थियो।
लागुऔषधकै मुद्दामा २ महिना ११ दिन कैद सजाय पाएका विर्तामोड ४ कै मनोजकुमार राजवंशीलाई गत साउन ७ गते नै पक्राउ गरिएको उनलाई पनि जिल्ला अदालत झापाले २०७६ साल माघ २७ गते सजाय तोकेको थियो।ठगी मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद सजाय पाएका कनकाई नगरपालिका २ का हरिभक्त संग्रौलालाई गत साउन १६ गते पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत झापाले २०७३ साल चैत ७ गते सजाय तोकेको प्रहरीले जनाएको छ ।
त्यसैगरि सवारी ज्यान मुद्दामा २०७५ साल फागुन १२ गते १ वर्ष ११ महिना ९ दिनको कैद सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसलासुनाएका विर्तामोड नगरपालिका १० का युवराज राजवंशीलाई पनि गत साउन २१ गते पक्राउ गरिएको हो।
बहुविवाहको मुद्दामा फैसला भएका कनकाई नगरपालिका १ का राजकुमार ऋषिदेवलाई गत साउन २२ गते प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत झापाले २०७५ असार २७ गते ११ महिना ९ दिन कैज सजाय र ५ हजार रुपैयाँ जरिमानाको फैसला सुनाएको थियो।
यस्तै,वन मुद्दामा अदालतले २०७१ साल वैशाख १५ गते १ महिना कैद सजाय र २२ हजार ८ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको मेचीनगर नगरपालिका १२ का रमेश राईलाई पनि प्रहरीले गत साउन २५ गते पक्राउ गरेको छ। सजाय पाएका तर फरार रहेका कमल गाउँपालिका ७ का सुरेशकुमार माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दा अदालतबाट २०७४ साल मंसीर ४ गते १ वर्ष ११ महिना कैद सजायको फैसला सुनाइएको थियो। उनलाई गत भदौ ४ गते पक्राउ गरिएको हो।
बैंकिङ कसुरमा सजाय पाएका बाह्रदशी गाउँपालिका ३ का नरप्रसाद पनेरु गत भदौ ७ गते पक्राउ परेका हुन्। उनलाई अदालते २०७६ साल माघ २१ गते ४ दिन कैद सजाय र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
विर्तामोड नगरपालिका ७ का कुशल उप्रेती पनि पक्राउ परेका छन्। उनलाई गत भदौ १० गते पक्राउ गरिएको हो। बैंकिङ कसुरमै उनलाई पनि २०७६ साल पुस १४ गते ३ दिन कैद र ५ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको थियो।
फरार अभियुक्तमा पक्राउ पर्ने अर्का व्यक्ति हुन् हल्दीबारी गाउँपालिका ३ का सुनिल मेचे। अवैध हात हतियार खरखजाना मुद्दामा उनलाई १ बर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको थियो। उनी पनि २०७५ साल चैत ११ गते फैसला सुनाएका दिनदेखि फरार थिए। उनलाई गत भदौ ७ गते पक्राउ गरिएको थियो । ती सवै अभियुक्तलाई अदालतमा पेश गरि फैसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।