एजेन्सी । ओस्करले सन् २०२४ मा हुने ९६औं एकेडेमी अवार्डका लागि उत्कृष्ट पिक्चरका लागि समावेशी मापदण्ड ल्याएको छ ।
लैंगिक, जाति, सेक्सुयल ओरिन्टेसन र अशक्तताका आधारमा पर्दाअगाडि र पछाडि हुने विधितालाई प्रोत्साहन गर्ने हेतुले द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेजले यो निर्णय लिएको हो । एकेडेमीले चार व्यापक प्रतिनिधित्व कोटी स्थापना गरेको छ । जसमा पर्दामा, क्रू सदस्यहरू, स्टुडियोमा र चलचित्र निर्माण र रिलिजको क्षेत्रमा इन्टर्नसिपमा काम गर्ने व्यक्तिहरू छन् । यी चार विधामाध्ये पनि प्रत्येक विधामा उप-श्रेणी पनि राखिएको छ ।
पहिलो अनस्क्रिन विधाअन्तर्गत, चलचित्रहरूले अनस्क्रिन स्ट्यान्डर्ड पूरा गर्न, कम्तिमा चलचित्रका एक मुख्य पात्र वा सहायक महत्त्वपूर्ण पात्र पछाडिपरेका जातीय समूहबाट हुनुपर्नेछ । त्यस्तै ३० प्रतिशत सहयाक भूमिकाका पात्र यस्तै समूहबाट हुनुपर्नेछ । साथै चलचित्रको कथा वा विषय पनि पछाडिपरेका वर्गमा आधारित हुनुपर्नेछ । यसमा रङ, एलिजिबिटी र अशक्त वर्गबाट हुनुपर्नेछ ।
चलचित्रको निर्मातालाई प्रदान गर्ने ‘उत्कृष्ट चलचित्र’मा भने एकेडेमीका सदस्यको भोटमार्फत तय गरिनेछ । अन्य विधामा भने माथि उल्लेखित मापदण्ड मुख्य मापक हुनेछ ।
त्यस्तै एकेडेमीले सार्वजनिक गरेको दोस्रो विधामा चलचित्र टिमको नेतृत्व गर्ने दुईजना व्यक्ति पिछडिएका समूहबाट हुनुपर्ने छ । भने क्रू मेम्बरहरुमध्ये ६ जना यी समूहबाट हुनुपर्नेछ ।
तेस्रो विधामा पेड इन्टर्नसिपमा काम गर्नेहरूलाई र चलचित्र निर्माणको प्रशिक्षणमा पिछडिएका वर्गलाई समावेश गर्नुपर्ने भनिएको छ । चौथो विधामा मार्केटिङ, वितरण र प्रचारको टिममा पनि ती वर्गलाई समावेश गर्नैपर्ने उल्लेख गरिएको छ ।
यो समावेशी मापदण्ड एकेडेमीका गभर्नर डेभन फ्रंकलिन र जिम जियानोपुलोसको नेतृत्वमा र निर्माता गिल्डको परामर्शमा तयार गरिएको हो । उनीहरूले यो समावेश मापदण्ड तयार पार्न ब्रिटिस फिल्म इन्स्टिच्युट र ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्डको विविधता मापदण्डलाई पनि आधार मानेका छन् ।
यद्यपि यो परिवार्तन २०२१ मा हुन गइरहेको ९३औं ओस्कर अवार्डमा भने लागु हुने छैन । कोरोना महामारीका कारण यस वर्ष हुनुपर्ने अवार्ड अर्को वर्षको अप्रिल २५ का लागि पछि धकेलिएको छ । महामारीका कारण यस वर्षका लागि मात्रै लागु हुनेगरी एकेडेमीले केही नयाँ नियम पनि बनाएको छ ।