एक खेल अगावै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी श्रृंखला इंग्ल्याण्डले जितेको छ ।

आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले एक खेल अगाडि नै सिरिज २–० ले जितेको हो । यसअघि पहिलो खेलमा इंग्ल्याण्डले अष्ट्रेलियामाथि २ रनको जित निकालेको थियो ।
गए राति साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।
इंग्ल्याण्डका लागि जोस बट्लरले अविजित रहँदै ७७ रन जोडे । यस्तै डाविड मालनले ४२ रन बनाउँदा मोइन अली १३ रनमा जोडे ।
अष्ट्रेलियाका एस्टन अगरले २ विकेट लिए भने मिचेल स्टार्क र एडम जाम्पाले समान १–१ विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । उसका लागि आरोन फिन्चले ४० रन बनाउँदा मार्कुस स्टोनिसले ३५ रन बनाए ।
इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिँदा जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले समान एक–एक विकेट लिए ।
अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।