पार्टी सभापति शेरबहादुर देउवा विधानविपरीत अगाडि बढेको निष्कर्षमा पुगेको नेपाली कांग्रेसको संस्थापन इतर समूह चरणवद्ध आन्दोलनको तयारीमा जुटेको छ । सभापति देउवाले पछिल्लो समय गठन गरेका पार्टीका केन्द्रीय विभागलगायत क्रियाशील सदस्यता वितरणमा गरेको हस्तक्षेप फिर्ताका लागि दबाब दिन इतर समूह चरणवद्ध आन्दोलनमा जाने तयारी गरेको हो ।
सभापति देउवाविरुद्ध गरिने चरणवद्ध आन्दोलनका लागि सहकार्य गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग छलफल गरेको छ । दुबै समूहका नेताहरुको शनिबार सम्पन्न संयुक्त ‘भर्चुअल’ बैठकमा सभापति देउवालाई निर्णयहरु फिर्ता लिनका लागि दबाब दिन चालिने सम्भावित दबाबका कार्यक्रमहरुका बारेमा छलफल गरेका छन् ।
विधानविपरीत गरिएका भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रमबारे छलफल भएको ‘भर्चुअल’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
ती नेताले सभापति देउवालाई सात दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाउने र अल्टिमेटम अवधिभित्र माग सम्बोधन नभए चरणवद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल भएको बताएका छन् ।
‘भर्चुअल’ बैठकमा महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवामाथि दबाब सिर्जन गर्नका लागि सम्भावित आन्दोलनका कार्यक्रमहरुको सूची पेस गरेका बताइएको छ । महामन्त्री कोइरालाले पेस गरेको आन्दोलनका कार्यक्रमहरु समावेश गरिएको प्रतिवेदन पौडेल समूहले गठन गरेको तीन सदस्यीय समितिले तयार गरेको स्रोतले जनाएका छ । उक्त समितिमा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सदस्य रहेका छन् ।
प्राप्त ‘भर्चुअल’ बैठकका लागि तयार पारिएको प्रतिवेदनमा सभापति देउवाले सातदिने अल्टिमेटम अवधिभित्र आफ्ना पछिल्ला कदम नसच्याए इतर समूहले केन्द्रीय सदस्यहरु, पार्टीका जिल्ला सभापतिहरु, सांसदहरु, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने उल्लेख छ ।
देउवामाथि दबाब सिर्जन गर्न उक्त अन्तरक्रियामा प्राप्त भएका रायसहित पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने, जिल्ला तथा पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन बस्ने र अन्तिम अवस्थामा केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नेसम्मको तयारी गर्नुपर्ने उल्लेख छ ।