Nepali Unicode | Preeti to Unicode

एजेन्सी, १९ भदौ । बार्सिलोनाका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले कप्तान लियोनल मेस्सी क्याप नोउमै बस्नेमा आफू विश्वस्त रहेको बताएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै फ्रेन्च स्टार ग्रिजम्यानले मेस्सी बार्सिलोनाबाटै खेल्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका हुन् ।

३३ वर्षीय मेस्सीले एक साताअघि क्याप नोउ छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए । मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग प्रस्ताव राखेका थिए ।

तर, पछिल्लो सयम उनले क्लब छोड्ने मनसाय फेरेको बताइएको छ । अर्जेन्टिनी स्टार मेस्सीका बुबा जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारियाबीचको भेटपछि सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले क्लब नछोड्ने मनसाय बनाएको बताइएको छ ।

मेस्सीका एजेन्टसमेत रहेका जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष बार्टोमेउले बुधबार मेस्सीको विषयलाई लिएर भेटघाट गरेका थिए । उनीहरूबीचको भेट सकारात्मक भएका कारण मेस्सी बार्सिलोनामै बस्ने मनसायमा पुगेको बताइन्छ ।

यस्तैमा सहकर्मी ग्रिजम्यानले पनि आगामी सिजन मेस्सीसँगै खेल्न पाइनेमा आफू विश्वस्त रहेको बताएका छन् । ‘हामी मेस्सी र क्लबबीचको विषयमा अप्टेड लिने प्रयासमा छौं । तर, यो विषय उनी र क्लबबीचको नै हो’, यूईएफए नेशन्स लिगको तयारीका लागि फ्रान्समा रहेका उनले भने ।

‘हाम्रो आशा उहाँ यहीँ बस्नुहुन्छ भन्ने मात्र छ । म अहिले राष्ट्रिय टोलीको ध्यानमा केन्द्रित छु र अघिल्ला दुई खेलको तयारीमा छु । हामीले मेस्सी र क्लबको विषयमा केही कुरा सुनेका छौं । तर, अब के हुन्छ भन्नेबारे थाहा छैन । म विश्वस्त छु कि उहाँले बार्सिलोनो छोड्नु हुन्न ।’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय