
काठमाडौं । नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् । यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए ।
“बंगलादेशको यूरिया मल बेच्ने नीति छैन । मागेको पैँचो नै हो ।
मन्त्री भुसालले केही समय अगाडि नै बंगलादेशसँग मल सापटी लिने विषयमा छलफल गरेका थिए । पछिल्लोपटक बंगलादेश सकारात्मक भएपछि प्रधानमन्त्रीस्तरमा कुराकानी भएको हो ।
गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग यूरिया मल सापटी मागेको हो । प्रधानमन्त्री ओलीले पनि बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता भएको र यूरिया मल सहयोग गर्न भनेको ट्विटमा उल्लेख गरेका छन् ।