
काठमाडौं : सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजी माग गरिएको रिट हेर्न नभ्याउनेमा परेको छ । अदालतको संवैधानिक इजलासमा पेसी तोकिएको दुबै मुद्दा हेर्न नभ्याउनेमा परेका हुन् ।
यसअघि सत्तारुढ नेकपामा आन्तरिक कलहले चरम रुप लिँदै गरेको अवस्थामा सभामुख सापकोटाविरुद्धको मुद्दा र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजी माग गरिएको रिटको पेसी तोकिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा दुबै मुद्दाको पेसी तोकिएको थियो । अध्यादेश खारेजीको माग गर्दै अधिवक्ताहरु ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले दुईवटा रिट हालेका थिए ।
यस्तै सभामुख सापकोटाविरुद्ध अदालतको अवहेलनासहितको मुद्दामा पेसी तोकिएको थियो । गत फागुन ३० मा पनि पेसी तोकिएर सुनुवाई सरेको मुद्दामा आज फेरि पेसी तोकिएको हो । सभामुख सापकोटाविरुद्ध काभ्रेको अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा उनकी श्रीमती पूर्णमायाले मुद्दा हालेकी थिइन् ।