
काठमाडौँ — जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका की एक महिलालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१३, कुलेश्वरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । ती महिलाले इलेक्ट्रोनिक्स सामान मर्मत गर्ने क्रममा चिनजान भएको युवकलाई ब्ल्याकमेल गर्दै रकम मागेकी थिइन् । पछिल्लो समय उनले ती युवकलाई मलाई पैसा दे, नत्र जबरजस्ती करणीको मुद्दा लगाएर प्रहरी र तिम्रो परिवारलाई भन्दिन्छु भनेर धम्काउन थालेपछि युवकले डरले १० लाख रुपैयाँ तिर्ने सहमति पनि गरेको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा, महिलाले तत्काल ३ लाख रुपैयाँ र बाँकी ७ लाख एक हप्ताभित्र दिन सर्त राखेको समेत प्रहरीले अनुसन्धानमा भेटेको छ । महिलाको साथबाट उनकै नाममा रहेको नबिल बैंकको तीन लाखको चेक र आईफोन प्रहरीले बरामद गरेको छ । यस विषयमा युवकले प्रहरीमा आफू निर्दोष हुँदा पनि फसेको भन्दै उजुरी गरेका थिए ।
उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अहिले युवतीलाई आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।