विराटनगर । अमेरिकाले आईसीसी टी– २० विश्वकप २०२४ को उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको हो ।
१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।
समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुआत गर्नेछ ।
