कोशी प्रदेशसभाको दोस्रो कार्यकालको ८ महिना पुगेको छ । यो अवधिमा प्रदेशले तीन वटा सरकार पाएको छ । जम्मा तीन वटा कानुन बनेका छन् । राजनीतिक अस्थीरताका कारण प्रदेशमा बजेट शून्यताको अवस्था छ ।
दोस्रो अधिवेशनको पहिलो बैठक गत पौष १७ गते बसेको थियो । त्यसयता प्रदेशसभाको २४ वटा बैठक बसेको छ । आठ महिनामा पूरा हुँदा जम्मा २४ वटा बैठकमा ४३ घण्टा १५ मिनेट बैठक बसेको हो ।
यो अवधीमा प्रदेशसभाबाट एउटा प्रदेश निजामती सेवा सम्बन्धी ऐन निर्माण भएको छ । याे अघिल्लो सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गरेको मात्रै हो ।
प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेको छ । प्रदेश १ लाई परिवर्तन गर्दै कोशी नाम राख्नका लागि केही ऐन संशोधन गर्न बनेको विधेयक ऐनको रूपमा पारित भएकाे थियाे । प्रदेशसभामा ९ वटा विधेयक संसद सचिवालयमा दर्ता छन् ।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो ।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।
पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम थियो । तर, उनले त्यसअगाडि नै भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए । विश्वासको मत लिएको मुद्दा सर्वाेच्च अदालतमा पुगेको छ ।
