Nepali Unicode | Preeti to Unicode

काठमाडौं, मंसिर १५
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आफ्ना सदस्य राष्ट्रहरूको नयाँ वरीयता जारी गरेको छ । आज फिफाले नोभेम्बर महिनाअन्तर्गतको नियमित वरीयता अद्यावधिक सार्वजनिक गरेको हो । सार्वजनिक वरीयताअनुसार युरोपियन देश इटाली लामो समयपछि शीर्ष १० मा फर्किएको छ । त्यसैगरी, मेक्सिको पनि शीर्ष १० मा समावेश भएको छ ।

सार्वजनिक वरीयताअनुसार यसपटक शीर्ष–६ को वरीयतामा कुनै फेरबदल छैन । अर्थात्, शीर्ष ६ टोली अघिल्लै महिनाको वरीयतामा यथावत छन् । जसमा पहिलो स्थानमा बेल्जियम यथावत रहँदा फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल र स्पेन क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् ।यता, यसपटक अर्जेन्टिनाले एक स्थान सुधार गरेर साँतौं स्थानमा उक्लिएको । उरुग्वे भने एक स्थान तल झरेर आठौंमा पुगेको छ । मेक्सिकोले यसपटक दुई स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिँदा इटाली पनि अघिल्लो महिनाको तुलनामा दुई स्थान सुधार गर्दै १०औं स्थानमा चढेको छ । इटाली ४ वर्षपछि फिफा वरीयतामा शीर्ष १० मा पर्न सफल भएको हो ।त्यसैगरी, क्रोएसिया भने यसपटक दुई स्थान घटुवा भएर ११औं स्थानमा पुगेको छ । डेनमार्क, जर्मनी र नेदरल्यान्ड्सले एक–एक स्थान सुधार गरेर क्रमशः १२औं, १३औं र १४औं स्थानमा चढेका छन् । कोलम्बिया यस महिनामा एकैपटक पाँच स्थान घटुवा भएर १५औं स्थानमा पुगेको छ । यता, पोल्यान्ड एसपटक एक स्थान घटुवा भएर १९औं स्थानमा रहँदा रसिया एकैपटक पाँच स्थान घटुवा भएर ३९औं स्थानमा पुगेको छ ।

यता, दक्षिण एसियामा भारतले यसपटक राम्रो सुधार गरेको छ । उसले एकैपटक चार स्थान सुधार गरेर १०४औं स्थानमा चढेको छ । अफगानिस्तान एक स्थान सुधार गर्दै १५०औं स्थानमा छ । माल्दिभ्स १५५औं स्थानमा यथावत छ । नेपाल एक स्थान घटुवा भएर १७१औं स्थानमा पुगेको छ ।

बंगलादेशले तीन स्थान सुधार गर्दै १८४औं स्थानमा चढेको छ । यता, भुटान १८९औं स्थानमा यथावत रहँदा पाकिस्तान २००औं स्थानमा यथावत रहेको छ । श्रीलंका पनि २०६औं स्थानमा यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर