नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा पुगेको छ । ४–२ को रोमाञ्चक जित निकाल्दै क्रोएसिया फाइलमा पुगेको हो ।
क्रोएसियाको रोमाञ्चक जितमा एन्डरेज क्रामारिच, मारियो पासालिस, ब्रुनो पेटकोभिच र कप्तान लुका मोड्रिचले गोल गरे । डच टोलीका डोनेल मालेन र नोआ लाङले गोल फर्काए ।
स्टेडियम फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि घरेलु टोलीले त्यसलाई जोगाउन नसक्दा पराजित भयाे ।
खेलको ३४औ मिनेटमा मालेनको गोलबाट डच टोली पहिलो हाफमा १–० को अग्रता दिलाए । ५५औं मिनेटमा एन्डरेज क्रामारिचले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
७२औं मिनेटमा मारियो पासालिसले गोल गर्दै खेलमा क्रोएसियालाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नोआ लाङले गोल गर्दै बराबरीमा फर्काए ।
अतिरिक्त समय भने क्रोएसियाको पक्षमा रह्यो । ९८औं मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई ३–२ को अग्रता दिलाए । ११६औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई ४–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दै अन्तिम २ मा पुर्याए । क्रोएसियाले उपाधिका लागि १८ जुनको राति स्पेन र इटालीबीचको विजेतासँग खेल्नेछ ।
