काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन् ।
मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तर्संघर्ष र बहस हुनुलाई अस्वाभाविक रुपमा लिन नहुने उल्लेख गरे । नेकपा स्थायी समिति सदस्यसमेत रहेका पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट साकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे । ‘‘हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ । घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ,’’ काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत् गृहको शनिबार निरीक्षण भ्रमणका क्रममा जिल्लास्थित नेकपा नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘‘घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ ।’ उनले नेताहरुबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बसहमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे ।
सत्तारुढ पार्टीभित्र विवाद चर्किएका कारण सिंगो मुलुकको ध्यान त्यसैमा केन्द्रित भएकाले छिटै निकास दिने गरी छलफल हुने स्पष्ट गरे । मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे । यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नेपर्ने उनको भनाइ थियो ।
