विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण दर घट्दै गइरहेको पाइएको छ ।
तर दैनिक रुपमा भेटिने संक्रमितको संख्या घट्दै जाँदा भारतमा भने संक्रमण दर झन् उच्च हुँदै गइरहेको छ । विश्वमा संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार एक सय ४० जना संक्रमित भेटिए ।
अमेरिकामा यसअघि दैनिक ५० हजारमाथि संक्रमित फेला पर्ने गरेका थिए । केही दिनयता ४० हजार मुनी संक्रमित भेटिने गरेका छन् । हालसम्म अमेरिकामा ६२ लाख १० हजार तीन सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या पनि घट्दै गइरहेको छ । अमेरिकामा एकै दिन चार सय ८५ जनाको मृत्यु भयो । यसअघिसम्म दैनिक हजारको हाराहारी वा त्यो भन्दामाथि संक्रमितको मृत्यु हुने गरेको थियो । हालसम्म अमेरिकामा एक लाख ८७ हजार सात सय नौ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये ३४ लाख ५२ हजार तीन सय ५७ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । ३५ लाख ७० हजार तीन सय १० जना उपचाररत रहेकोमा १५ हजार नौ सय ३६ जनाको अवस्था गम्भीर छ ।
