Nepali Unicode | Preeti to Unicode

चैत १५ गते । प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ ।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् ।

नौ जना विद्यार्थीको समूहमा रहनुभएका चैतन्य माध्यमिक विद्यालय बनेपाका विद्यार्थी सङ्गीता मैनाली भने विज्ञानको विद्यार्थी नभएर व्यवस्थापनको विद्यार्थी हुनुुहुन्छ । अध्ययन र अनुसन्धान गर्न इच्छाशक्ति नै मुख्य कुरा रहेको प्रमाणित मैनालीले गरिरहनुभएको छ ।

उहाँको लगाव र खोजी गर्न सक्ने क्षमता देखेर उहाँहरूको कार्यको नेतृत्व गरिरहनुभएका अन्तरिक्ष प्रतिष्ठानका आभास मास्केले प्रशंसा गर्नुभएको छ । सो कार्यमा छ जना इन्जिनियरले समेत काम गरिरहेका छन् । त्यसको नेतृत्व जनार्दन सिलवालले गर्नुभएको छ । मुनालको निर्माण कार्यले जीवनमा धेरै कुरा सिक्ने मौका पाएकोमा विद्यार्थी खुसी छन् तर समय मिलाउन भने उनीहरूका लागि निकै चुनौतीपूर्ण छ ।

नियमित अध्ययनबाहेक नै घण्टौँ समय मुनाल निर्माणमा दिएका विद्यार्थीले १६ महिनाको लामो मेहनतपछि तेस्रो चरण पूरा गरेपछि मङ्गलबार खुसी साटासाटसमेत गरेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीले पाएको अवसरलाई सही रूपमा प्रयोग गर्दै आफूलाई अब्बल रहेको प्रमाणित यो परियोजनाले गराउँदै छ । भूउपग्रहको पहिलो, दोस्रो र तेस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ । अब तोकिएकै समयमा प्रक्षेपणको तयारी मुनालले गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ–प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठानले निर्माण गरेको मुनालको तेस्रो चरण पूरा गरेर भारतको अनन्त टेक्नोलोजीमा लगेर स्पेस इन्भारोमेन्ट टेस्ट गराएसँगै प्रक्षेपणका लागि योग्य ठहरिएको छ । भूउपग्रहलाई बेस्सरी हल्लाउने भ्याकुममा राखेर बेस्सरी तातो र चिसो बनाउने परीक्षण पूरा भएका छन् । मास्केका अनुसार यी दुवै परीक्षणलाई ‘स्पेस इन्भारोमेन्ट टेस्ट’ भन्ने गरिन्छ ।

सबै परीक्षण पूरा भएपछि मङ्गलबार भूउपग्रहको तन्दुरुस्ती जाँच्न जापान, थाइल्यान्ड, स्विट्जरल्यान्ड र श्रीलङ्काबाट आएका विज्ञसमूहले मुनाल राम्रो रहेको बताउनुभयो । विगतमा भूउपग्रहको प्रयोगमा आएका कमजोरी मुनालमा नदेखियून् भन्दै केही सुझावसमेत उहाँहरूले दिनुभएको थियो । विज्ञबाट आएको सुझावले मुनाललाई थप मजबुत बनाउन सहयोग पुग्ने र त्यसबाट हौसला मिलेको एलिना सापकोटाले बताउनुभयो ।

भूउपग्रहको आकार १० घनसेमिको रहने र एक केजीसम्मको तौल रहनेछ। मुनाल स्याटेलाइटमा क्यामरा मिसन, प्यासिभ अल्टिच्युड डिटरमिनेसन एन्ड कन्ट्रोल (पीएडीसीएस) मिसन रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर