विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको उपाधिका लागि आयोजक विराटनगर सिटी क्लब र भारतीय टोली लुका सकर क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै लुका सकारले आयोजकसँग भिड्ने भएको हो ।
बुधबार शहिद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै भारतको लुका सकर क्लब फाइनल प्रवेश गरेको हो । निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा सशस्त्रका दिपेश धिमाल र सविन गुरुङले गोल गरे । विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके । लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो। आरसानो र पउल ओपारेले गोल गरे ।
प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँगै विहीबार खेल्ने छ । उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ ।
