धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरूद्ध वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । मंगलबारदेखि संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।
वडाध्यक्षहरूलाई स्वकीय सचिवका सहयोगीमार्फत् निर्देशनात्मक पत्राचार गर्न लगाएपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले अपमान भएको भन्दै २४ घन्टाभित्र माफी माग्न अल्टिमेटम दिएका थिए । सोमबार साँझ ५ बजे उनीहरूको अल्टिमेटमको समय सकियो । तर मेयर साम्पाङले माफी मागेनन् । माफी नमागेको भन्दै वडाध्यक्षहरूले संघर्ष घोषणा गरेका हुन् ।
धरानका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले आइतबार पत्रकार सम्मेलन गरेर उक्त गल्तीप्रति सार्वजनिक रूपमा माफी माग्न भनेका थिए ।
स्वकीय सचिवालयका कर्मचारी सुदर्शन लिम्बूले लेटरप्याडमा वडाअध्यक्षहरूलाई वडाका योजना र तिनको प्रगति विवरण पेश गर्न निर्देशनात्मक पत्राचार गरेको आरोप वडाध्यक्षहरूको छ ।
