Nepali Unicode | Preeti to Unicode

चैत ३ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा पीत पत्रकारिता बढ्दैगएकाले त्यसलाई प्रश्रय दिन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको टोलीसँग आज शुक्रबार सिंहरदवारस्थित आफ्नै कार्यकक्षमा छलफल गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“थर्काएर, किनेर, फकाएर बिग हाउसहरुले वातावरणलाई प्रभावित पार्ने कोसिस गरिरहेका छन्, पत्रकार त्यसबाट मुक्त हुनुपर्छ” सभामुख घिमिरेले भन्नुभयो, “मुलुकमा पित पत्रकारिता निकै डर लाग्दोगरी देखापरेको छ, यसलाई पत्रकारले प्रश्रय दिनु हुँदैन ।” पत्रकारले जिम्मेवारीपूर्वक पत्रकारिता नगरेमा त्यसको असर समाजमा पर्ने भन्दै सभामुख घिमिरेले समाज, जनता र देशप्रति जिम्मेवार भएर पत्रकारले कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।

सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘पत्रकार जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्ने हो त्यस्तो गरेको देखिँदैन ।” पत्रकार महासङ्घले त्यसमा समन्वयकारी भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । समस्या समाधानमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुनेगरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारको भूमिका महत्वपूर्ण हुने उहाँले चर्चा गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘कानुनको अभावमा धेरै नराम्रा कुराहरु भइरहेका छन् । नयाँ परिस्थिति तथा परिवेशहरु सञ्चारक्षेत्रमा देखापरिरहेका छन् । कन्ट्रोल गर्ने समस्याहरु देखापरेका छन् । यी कुराहरुमा राजनीतिक पार्टीहरुको चेतना पुग्नुपर्छ ।’

छलफलका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनु भयो । सो अवसरमा महासङ्घका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर