Nepali Unicode | Preeti to Unicode

इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई  ७–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।  एर्लिङ हालान्डको कीर्तिमानी पाँच गोलको मद्दतमा समग्रमा ८–१ नतिजासहित सिटी अन्तिम आठमा पुगेको हो । यसअघि पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले ५ तथा गुन्डोगान र ब्रुएनाले एक÷एक गोल गरे ।

घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै हालान्डले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी  ३–० ले अघि बढ्यो ।

४९औं मिनेटमा इल्केए गुन्डोगानले गोल गरे । ५३ औं मिनेटमा हालान्डले म्यानुएल एकान्जीको पासमा व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे ।

५७औं मिनेटमा हालान्डले एकान्जीकै पासमा व्यक्तिगत पाँचौं गोल गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केभिन डि ब्रुएनाले   गोल गर्दै सिटीलाई ७–० को सानदार जित दिलाए ।

लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी बनेका छन् ।

उनी च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् ।

यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए । २२ वर्षीय हालान्डले यो सिजन सबै प्रतियोगितामा ३९ गोल गरिसकेका छन् । सिटीबाट एकै सिजन यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी पनि बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर