Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसको मंगलबारदेखि काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोर्होयाएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था गरेको भए अहिलेसम्म देशले पाँचौँ राष्ट्रपति पाइसकेको हुने स्मरण गरे ।

उनले सांसद, मन्त्री भइसकेकाहरूले देशको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरूपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखे ।

कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्यु टावर बनाउने कुरा, एकै पटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा देशका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले देशलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनोट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताए ।

महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताए ।

उनले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाूको छनोट गर्न नहुने पनि पटक–पटक दोर्होयाए ।

महामन्त्री शर्माले राजनीति नागरिकको आर्थिक रूपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर