Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन
Nepali Unicode | Preeti to Unicode

कास्की –  मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक-पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो ‘वाउ पोखरा !’

पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल र ताल हुन् । अनि भू-गर्भबाट कलकल बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिम शृङ्खला यहाँका थप आकर्षण । फेवा, रुपा, वेगनास, गुँदे, दिपाङ, खास्टे, निउरेनी, मैदी र कमलपोखरीजस्ता नौ ताल त छँदै छन् । नौ तालले सिँगारिएको पोखरा उपत्यकाका शान्ति स्तुपा, पातले छाँगो (डेभिज फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, विन्ध्यवासिनी आदि थप गहना हुन् ।

पछिल्लो समय पोखराको थपिएको पहिचान विविध साहसिक खेलको शहर पनि हो । पोखरामा प्याराग्लाइडिङ, जिप फ्लायर, टावरसहितको बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हट एयर बेलुन, स्काइ डाइभसँगै पर्यटकले रमाइलोका लागि गर्ने साइकलिङ्, बोटिङ्ग, घोडा सवारी, सेती नदीमा गरिने जलयात्रा (र्याफ्टिङ) तथा कायाकिङले पनि यस क्षेत्र साहसिक खेलको मुख्य गन्तव्य बन्दै गएको छ ।

प्राकृतिक सुन्दरता अवर्णित सहर पोखरामा मौसम जसरी खुलेको छ त्यसरी पोखराका पर्यटन व्यवसायीको मन भने खुल्न सकेको छैन । पोखराको सुन्दरताले व्यवसायीको अनुहारमा क्रान्ति ल्याउन सकेको छैन । यसअघिका वर्षहरुमा पर्यटकको चाप धान्न धौधौ पर्ने मौसम हो यो । विगतको अनुभव सम्झँदै, बिहानीको झुल्के घामसँगै आँगनीमा निस्कने व्यवसायी फेवातालमा डुङ्गा छचल्किएको कल्पनासँगै शून्य मन लिएर साँझ फर्किन बाध्य छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण गएकाे चैतदेखि सुस्ताएको पर्यटन असारयता बन्दाबन्दी खुले पनि लयमा फर्कन सकेको छैन । दशैँ तिहारको समयमा केही आन्तरिक पर्यटक देखिए पनि कोरोनाको उच्च जोखिम रहेकाले यहाँ रहेका होटल रेष्टुरेण्टहरुले सहज रुपमा सेवा प्रवाह गर्न सकेका छैनन् ।

पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीयस्थल समेत नखुल्दा थप समस्यामा परेका छन् । कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर नेगेटिभ अनिवार्य गराएको छ ।

कास्कीको मर्दी हिमाल पदयात्रामा जाँदा पीसीआर रिपोर्ट नेगेटिभ पेस गर्नुपर्ने नियमले पर्यटकलाई पोखरा आउनुअघि नै सोच्न बाध्य बनाइदिएको छ । पोखरा हुँदै जाने धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ पनि दर्शनार्थीका लागि अहिले बन्देज छ ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई मौसम खुले पनि यतिबेला व्यवसायीको मन खुल्न नसकेको बताउनुहुन्छ, ‘यो महामारीमा व्यवसायीले सरकारबाट केही आशा गरेका थिए, मौद्रिक नीतिको चौतर्फी स्वागत भयो, तर सरकारले आफैँले ल्याएको नीति कार्यान्वयन गर्न सकेन, व्यवसायीलाई थप पीडा दिने मात्रै काम भयो’ भट्टराईले भन्नुभयो ‘व्यवसाय सञ्चालन कोष छ तर खै त त्यसको प्रयोग ? सरकारले व्यवसायीलाई झुक्याउने काममात्र गर्यो, मौद्रिक नीतिबाट कोही लाभान्वित हुन सकेन’ उहाँले सबैकुरा केन्द्रीय नीतिबाट मात्र चल्ने हुँदा संघीयताको अनुभव व्यवसायीले गर्न नपाएको गुनासो गर्नुभयो ।

‘प्रदेश सरकारले भनेको कुरा कतै लागू हुँदैन, स्पष्ट नीति नियम नहुदा सबैले आफूखुशी पर्यटनमा रोक लगाएका छन् ।’ भट्टराईले पोखराको पर्यटन चलायमान हुन पोखरा मात्र खुलेर नहुने र आसपासका घान्द्रुक र धम्पुसका लगायतका स्थान खुल्न नसक्दा पर्यटक नै दोधारमा भएको बताउनुहुन्छ ।

‘मर्दी हिमालमा पर्यटकको चहलपहल राम्रो थियो, तर अहिले एक्कासि पीसीआर नेगेटिभ अनिवार्य गराइयो, कहीँकतै समन्वय नगरि गरिने यस्ता निर्णयले पर्यटनमा दीर्घकालीन असर पार्छ ।’  सरकारले व्यवसायीलाई साथ नदिँदा पोखरामा २० देखि ३० प्रतिशत व्यवसायी विस्थापित भइसकेको उहाँले बताउनुभयो । पोखरा भित्रका पर्यटकीय गन्तव्य पनि सुरक्षित रुपमा खोल्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको जोड छ ।

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका पूर्वसदस्य बासु त्रिपाठीले पर्यटन सम्बन्धी मूल कानुन र स्पष्ट नीति अभावमा पालिकाले आ-आफैँ नियम बनाउँदा पर्यटकले खुला रुपमा घुम्न डुल्नबाट बञ्चित हुनुपरेको बताउनुहन्छ ‘ लोन्ली प्लानेटले संसारको एक आकर्षक गन्तव्यमा अन्नपूर्ण पदमार्गलाई राखेको छ, तर पर्यटकलाई त्यहाँ जान रोक लगाइएको छ । यसले कस्तो सन्देश जान्छ रु’ उहाँले सङ्घीय सरकारले आफू मातहतका निकायलाई निर्देशन जारी गरेर आवश्यक मापदण्ड पालना गर्न लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ जहाँबाट पर्यटक आए पनि पर्यटन सम्बन्धी एउटै नीति नियमको आधारमा निर्धक्क घुम्न, डुल्न पाउनुपर्यो, प्रत्येक जिल्ला, गाउँपालिका पुग्दा फरक-फरक नियमले पर्यटकलाई अन्यौल बनाएको छ, यसले राम्रो सन्देश जाँदैन ।’

उहाँले प्याराग्लाइडिङ उडेर मात्र पोखराको पर्यटन नधानिने भन्दै सरोकारवाला सबैको साझा धारणासहित एउटै पर्यटन नीतिको आवश्यकता औंल्याउनुभयो । सङ्घीय कानुन नीतिसँग नबाझिने गरी सङ्घको अनुमतिमा पालिकाले केही नियम बनाउन सक्ने उहाँको भनाइ छ ।

होटल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका केही होटल सञ्चालन भए पनि अन्य पर्यटकीय गतिविधि र गन्तव्य खुला नहुँदा समस्या भएको बताउनुभयो । उहाँले पोखराका होटल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही, डेभिज फल्स, चमेरे गुफा, विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलगायतका स्थल एवं घान्द्रुक, धम्पुसलगायतका पर्यटकीय गन्तव्य खुल्न नसक्दा पर्यटकीय गतिविधि बढ्न नसकेको उहाँको भनाइ छ ।

‘आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीयस्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन’ उहाँले भन्नुभयो, ‘पर्यटकीय गतिविधिका लागि तीनै तहको पर्यटन नीति स्पष्ट हुनुपर्छ र सम्बन्धित निकायसँग समन्वय गरेर पर्यटकीयस्थल एवं गतिविधि तत्काल सञ्चालनमा ल्याउन आवश्यक छ ।’

ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल, टान पश्चिमाञ्चलका अध्यक्ष सुसिलराज पौडेलले कुनै ठाउँमा बन्द कुनै ठाउँमा खुल्ने गर्दा पर्यटनलाई अन्यौल बनाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सङ्घीय सरकारले पदयात्रा र हिमाल आरोहण खुला गरिसकेपछि पर्यटकलाई त्यहाँ जाने वातावरण मिलाएर सहज वातावरण बनाउनुपर्नेमा ठाउँ ठाउँमा र पालिकामा आफू अनुकूलका निर्णय गर्दा पर्यटन क्षेत्र अस्तव्यस्त भएको छ।’

पौडेलले भन्नुभयो ‘अहिलेको कठिन अवस्थामा राज्यले पर्यटनमैत्री नीति ल्याएर व्यवसायीलाई पलायन हुनबाट जोगाउनु राज्यको दायित्व हो तर राज्यले ल्याएको नीति पनि कार्यान्वयन हुन सकेन, यसले व्यवसायीलाई निरास बनाएको छ ।’

पौडेलले स्थानीय समुदायको  सुरक्षालाई पनि ध्यान दिएर स्थानीयसँग समन्वय गरेर जनचेतनाका लागि स्वास्थ्य सतर्कताका तालीमहरु प्रदान गरी पर्यटन चलायमान बनाउन सकिने बताउनुहुन्छ । पोखराको सुन्दर र आकर्षक सन्देशलाई विश्व बजारमा पुर्याएर आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिँदै आएका गण्डकी प्रदेश उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले कोभिड -१९ का कारण पर्यटकीय गतिविधि सञ्चालनमा समस्या भएको बताउनुभयो ।

‘महामारी बढिरहेको छ, पर्यटकीय गन्तव्य खुलाउँदा थप जोखिम हुनेतर्फ पनि सरकार उत्तिकै संवेदनशील छ, अब तिहारपछि स्वास्थ्य सुरक्षा रणनीति अवलम्बन गरेर पर्यटन चलायमानको विकल्पको खोजी गर्नेछौँ ।’ उहाँले पर्यटकीय गन्तव्यहरुमा पीसीआर अनिवार्यभन्दा पनि लक्षण देखिएकाहरुलाई समुदायमा नजान भनिएको जानकारी दिनुभयो ।

मन्त्री लम्सालले प्रदेश पर्यटन ऐन आएपछि यससँग सम्बन्धित धेरै समस्याको समाधान हुने र यसैको आधारमा पालिकाले केही नियम बनाएर अघि बढ्न सक्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टिकाराम सापकोटाका अनुसार पोखरामा जमिनबाहेक पर्यटन क्षेत्रमा एक खर्ब ९२ अर्ब रुपैयाँ लगानी रहेको छ । यस क्षेत्रमा ७५ हजारले रोजगार पाएका छन् भने अहिले पोखराको पर्यटनले अहिले दैनिक रु १३ करोड ३६ लाख घाटा व्यहोरिरहेको छ ।

पर्यटनबाट कूल गार्हस्थ उत्पादनमा ७.९ प्रतिशत योगदान रहेको छ । नेपालमा आउने पर्यटकको औसत बसाइ ११ दिन रहेको छ । त्यसमा पोखरा उनीहरु २ देखि ३ दिनसम्म बस्ने गरेको विगतको तथ्याङ्क छ । त्यसैगरी नेपाल आउने पर्यटकले औसतमा ४५ देखि ५० अमेरिकी डलर खर्च गर्ने गर्दछन् ।

गएकाे वर्ष नेपालमा करिब ११ लाख ९८ हजार पर्यटक आएकोमा तीमध्ये पाँच लाख जति पोखरा पुगेको पर्यटन परिषद् पोखराले जानकारी दिएको छ ।  यस परिषद्ले आफ्नो यही मङ्सिर १२ को निर्वाचनपछि पोखरामा आन्तरिक पर्यटक प्रवद्र्धन के कसरी गर्ने भन्ने विषयमा आवश्यक छलफल गरेर कार्यक्रम (प्याकेज) ल्याउने तयारी गरिरहेको पनि बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय