प्रदेश १ काे नाम काेसी राख्नका लागि नेकपा एमाले र नेपाली कांग्रेस लगभग सहमत भएका छन् । दुवै दल भूगोलका आधारमा नाम राख्ने पक्षमा थिए । प्रदेशसभा बैठकमा दुई दलले कोसी नाम प्रस्ताव गर्न अनाैपचारिक सहमति गरेका छन् । आजकाे प्रदेशसभा बैठकमा छलफलका लागि नाम प्रस्ताव हुनेछ । प्रदेशमा राप्रपा पनि भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा छ ।
पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्ने निचोडमा पुगेको एमालेका एक सांसदले बताए । माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र जसपा भने पहिचानको आधारमा नाम राख्नुर्पे पक्षमा छन् ।
ठूला दल भूगोलका आधारमा कोसी नाम प्रस्ताव गर्ने तयारी गरेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेवल गर्ने तयारी गरेका छन् ।
‘कांग्रेस एमाले कोसी नाम राख्ने विषयमा सहमत छन्, तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेवल गर्छाैं,’ माओवादी केन्द्रका एक नेताले भने,‘ के नाम लैजाने भन्ने छलफल गरिरहेका छौं ।’ ती नेताका अनुसार कितार, लिम्बूवान किरात र कोसी किरात मध्ये एउटा नाम लैजाने तयारी छ ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले नामको विषयमा छलफल सहमति नजिक पुगेको बताए । उनले कोसी र कोसी किरात नाम राख्ने विषयमा छलफल भएको बताए ।
नेकपा एमाले प्रदेश १ को नाम कोसी राख्नु पर्ने पक्षमा छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोसी राख्नु पर्ने अडान लिएकाे थियो ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा अधिकतम सहमतिका आधारमा नाम राख्नुपर्ने बताउँछन् । आफ्नो पार्टीको छुट्टै अडान नभएको बताउँदै उनले अधिकतम सहमतिका आधारमा नाम राख्नु पर्ने बताए । उनको संकेत प्रदेशको नाम कोसी राख्ने पक्षमा थियो ।
नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले आफ्नो पार्टी पहिचानको पक्षमा रहेको बताए ।
९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले, २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिदा दुई तिहाई पुग्छ ।
